.

निर्वाचन आयोग घेराउ गर्ने क्रममा डा. बाबुराम भट्टराई पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई निर्वाचन आयोग घेराउ गर्ने क्रममा पक्राउ परेका छन् ।
भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई ट्रकमा हालेर नेपाल प्रहरी २ नं. गण महाराजगञ्जमा राखिएको नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए ।
नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा दलीय चुनाव चिन्ह माग गर्दै धर्ना दिन पुगेका थिए ।
पक्राउलगत्तै पत्रकारहरुलाई संक्षिप्त संक्षिप्त सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भने –
‘लोकतान्त्रिक मूल्य मान्यताविपरित संविधान मिचियो, दलीय चुनाव चिन्ह खोसियो, त्यसको विरुद्धमा हाम्रो आन्दोलन सुरु भएको छ । जबसम्म यो सरकारले दलीय चुनाव चिन्ह दिंदैन र चुनावको वातावरण सुनिश्चित गर्दैन, त्यतिबेलासम्म यो आन्दोलन जारी रहन्छ । दलीय चुनाव चिन्ह पाउनु हाम्रो अधिकार हो । निर्दलीय पञ्चायती व्यवस्था जस्तो होइन यो, म आफैं जीवनभर बहुदलीय लोकतान्त्रिक व्यवस्थाका निम्ति लडेको छु । बहुदलीय लोकतन्त्र भनेको चुनाव चिन्हसहित चुनाव लड्न पाउनु हो । त्यो अधिकारको जुन ढंगले हत्या गरिएको छ, जुन तीन दलीय सिन्डिकेट कांग्रेस, एमाले र माओवादीले जारी गरेका छन्, हामी त्यसको विरोध गर्छौं र यसका विरुद्ध लड्छौं ।’
नयाँ शक्तिलगायतका दलीय चुनाव चिन्हबाट बञ्चीत दलहरुले काठमाडौंलगायत आज आइतबार देशभरका निर्वाचन कार्यालयहरुमा धर्ना जारी राखेका छन् र भोलि सोमबार पनि धर्ना जारी रहनेछ ।

तस्बिर स्रोत : नयाँ शक्ति
Loading...
Share on Google Plus