धनगढी, ५ माघ – माघको चिसोमा पनि बिहान
साढे पाँच बजे उठ्छिन् जानकी । नित्यकर्म गरेर तीन वर्ष पुग्नै लागेको
छोरालाई खाजा बनाउँछिन् । छोरालाई खाजा खुवाएर ई रिक्साको अगाडिको सिटमा
सुताउँछिन् । त्यसपछि हुन्छ उनको धनगढी बजारको यात्रा ।
धनगढीकी जानकी महरा रातो रङको ई रिक्साको
अगाडिको सिटमा फलामको डन्डीले बच्चा नलड्ने गरी बनाएको एंगलमा छोरा
सुताउँछिन् । त्यसमाथि तातोपानी र दूधको थर्मस छ । दिनभरको यात्रा
बोराडाँडीदेखि भन्सार, भन्सारदेखि क्याम्पसरोड अनि हसनपुर हुँदै तारानगर
उत्तरबेहडी ओहोरदोहोर गरिरहन्छिन् उनी ।
धनगढी उपमहानगरपालिका ४ बोराडाँडीमा
भाडामा बस्ने जानकी डँडेल्धुराको जोगबुडा गाविसको कटालबाट तराई झरेको सात
वर्ष भयो । पहाडी भूभागमा जन्मिएर तराई आउनेबित्तिकै उनले ड्राइभिङ सिक्ने
चाहना गरिन् ।
जोगबुडाकै महेश महरा बसका चालक हुन् ।
उनीसँग विवाह भएपछि जानकी तराई झरिन् । श्रीमान्कै प्रेरणाले धनगढीमा रहेको
दिवस ड्राइभिङ सेन्टरमा ‘फोरह्विल’ गाडी चलाउन सिकेकी उनले चालक
अनुमतिपत्र लिएको पनि चार वर्ष भइसकेको छ । लाइसेन्स लिएपछि जानकीको जोश
निरन्तर बढ्दै गयो ।
धनगढीको सिड्लिङ जोन स्कुल र बालबाटिका
मन्टेस्सरी स्कुलको भ्यान चलाइसकेकी छन् उनले । अहिले उनी मयूर बोर्डिङ
स्कुलको भ्यान चलाउँछिन् । ‘सात÷आठ हजार रुपैयाँमात्र तलब आउने र त्यसबाट
घर धान्नै समस्या हुन थालेपछि ई रिक्सा चलाउन थालेकी हुँ’, उनीले भनिन् ।
बिहान ६ देखि साढे ८ बजेसम्म ई रिक्सा
चलाउँछिन् उनी । साढे ८ बजेदेखि १० बजेसम्म स्कुलको भ्यान र त्यसपछि १०
देखि साढे दुई बजेसम्म पुनः ई रिक्सा चलाउने उनी घर पुग्दा रातको आठनौ
बजिसक्छ । जानकीका श्रीमान् महेश पनि सुदूरपश्चिम यातायातको बसका चालक हुन्
। केही महिनाअघि महेशको खुट्टामा बसको सिसा खसेर गहिरो चोट लागेको छ ।
उनको धनगढीमा उपचार हुन नसकेर आफन्तले काठमाडौं लगेका छन् ।
श्रीमान्को उपचारका लागि खर्च पठाउनुपर्छ,
घुँडामुनिको नसा काटिएको छ, धनगढीको अस्पतालमा गरेको अपरेसनले राम्रो
नभएपछि काठमाडौं पठाउनुपरेको हो’, जानकीले भनिन् । सासूससुरा जोगबुढामै
बस्छन् । ‘गरे असम्भव केही छैन । यस्तो गर्नुको विकल्प पनि देख्दिनँ’, उनले
भनिन् । जानकीको दिउँसोको खाना बजारमै हुन्छ । छोरालाई पनि बजारमै खाना
खुवाउँछिन् । ‘कहिलेकहीं छोराले अब म रिक्सामा जान्नँ भन्छ । बल्लबल्ल
भुलाउनुपर्छ’, उनले भनिन् ।
जानकीको छोरा रोमनलाई मयूर बोर्डिङ
स्कुलले निःशुल्क पढाइदिन्छ । तर स्कुलबाट साढे दुई बजे छुट्टी भएपछि राति
आठ बजेसम्म आमाको रिक्सामै बस्नुपर्छ । ‘रोमन र मेरो लुगा धुने काम राति आठ
बजेपछि हुन्छ । राति आठ÷नौ बजे डेरामा पुगिन्छ । रातिको खाना म घरमै
बनाउँछु । छोरालाई खाना खुवाएर सुताउँछु । त्यसपछि सरसफाइको काम हुन्छ ।
बिहान साढे ५ बजे हिँडिहाल्नुपर्छ’, उनले भनिन् ।
कञ्चन बैंकबाट लिइएको ५० हजार रुपैयाँ
ऋणमा किनेको रिक्साको मासिक १० हजार रुपैयाँ किस्ता बुझाउनुपर्छ । महिला
भएकै कारण रिक्सा चलाउँदा आफूले खासै अप्ठ्यारो महसुस गर्नु नपरेको उनको
भनाइ छ ।
’यात्रुले छेउमा बाबु सुताएको देख्छन्, मसँग उल्टासीधा कुरा गर्न
सक्दैनन्’, उनले भनिन्, ‘बाबु मेरो सुरक्षाकवच भएको छ ।’ कोहीकोही महिलाले
कहिलेकहीं बिचरा तपार्इंका श्रीमान् कहाँ छन् भनेर सोध्दा आफूलाई ‘बिचरा’
होइन काम गर्ने महिलाका रूपमा चित्रित गर्ने उनले बताइन् । आजको अन्नपूर्ण
पोस्टमा छ।
Loading...