जब-जब नेपाली गीत, संगीतको बारेमा सोचिन्छ
वा चर्चा सुरु हुन्छ, नारायणगोपालको नाम सँगै जोडीएर आउँछ । मंसिर १९
अर्थात डिसेम्बर ४ तारिक, स्वरसम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको २३
बर्ष पुग्दैछ तैपनी उनका गीतहरु आज पनि सर्बाधिक सुनिने र मन पराउने गीतमा
पर्छन । बिक्रम सम्बत १९९६ असोज १८ गते काठमाडौं को किलगल टोलमा जन्मिएका
नारायण गोपाल आज यसलोकमा हुनुहुन्न तर उहाँका सिर्जना जिवित छन, उहाँको
स्वर जिवित छ । त्यो स्वर जस्मा अदभूत मिठास र गम्भिरता थियो, मान्छेका
माया, प्रेम र बिरहका मर्मस्पर्शी भावहरु उनको स्वरमा सर्लक्क अटाएका थिए र
नै त उहाँ यस लोकबाट बिदा भएर जाँदा लाखौं नेपालीको आँखा रसाएका थिए ।
आफ्ना
पिता आशागोपाल गुरुवाचार्यको प्रेरणाले संगीतमा लागेका नारायणगोपाल आधुनिक
गीतको धार समाएपछी बुवा कै आलोचना खेप्नु परेको थियो । नेपाली संगीतमा ५
सय भन्दा बढि गीतमा स्वर र ३ सय जति गीतमा संगीत दिनु भएका स्वरसम्राट
नारायणगोपालको ५१ बर्षे जीवन यात्रामा थुप्रै गोप्य फाइलहरु छन जसमध्ये
केहीको यहाँ चर्चा गरिन्छ ।
२. कुस्तिमा निक्कै खप्पिस नारायणगोपाल
शारिरिक रुपमा पहलामनका रुपमा कहलिनुभएको थियो । उहाँका नजिकका साथी
नगेन्द्र थापाका अनुसार नारायण गोपालले कुस्ती पनि सिक्नुभएको थियो । यदि
वहाँ संगीतमा नलागेको भए ईतिहासबिद बन्नु हुन्थ्यो । किनकी उहाँ ईतिहासमा
पनि निकै पोख्त हुनुहुन्थ्यो ।
३. नेपाली ईतिहासमा अहिलेसम्म जनताले नै
दिएको बिशेषण “स्वरसम्राट” मात्रै हो । पहिलोपल्ट नारायणगोपाललाई
“स्वरसम्राट” भन्ने ब्यक्ति कवि भुपी शेरचन हुनुहुन्छ । २०२८ सालमा पोखराको
एक कार्यक्रममा भुपिले नारायणगोपल लाई स्वर सम्राट भनेर सम्बोधन गर्नुभएको
थियो । पछि गोरखा दक्षिणबाहू दिँदा राजाले पनि स्वर सम्राट नै भनेर
सम्बोधन गर्नुभयो । यसरी नारायणगोपाल निर्बिबाद स्वरसम्राट हुनुभयो ।
४. नारायण गोपाल एक असफल पत्रकार
हुनुहुन्छ । २०२८ सालतिर सुरु गरिएको बाजा, गीत र नाचको छोटकरि रूप
“बागिना” का ब्यवस्थापक तथा सम्पादक समेत रहनु भएका नारायण गोपालले यसलाई ३
अंक भन्दा निरन्तरता दिन सक्नु भएन ।
५. नेवार कुलमा जन्मिएको भएर पनि हुन सक्छ
नारायणगोपाल खानामा निक्कै सौखिन हुनुहुन्थ्यो । प्राय आफुलाई मनपर्ने
पारिकार आँफै बनाउन मन पराउने नारायणगोपाललाई बँदेलको साँदेको मासु साह्रै
मन पर्थ्यो । यसैगरी अमिलो, पिरो, दुध, घिउ उहाँलाई साह्रै मन पर्थ्यो ।
त्यसैले स्वर बिग्रन्छ भनेर यसलाई कहिले पनि छोड्नु भएन । संगीत अन्वेषक
प्रकाश सायमिका अनुसार नारायणगोपाल गुँदपाक, पुस्टकरी लिएर टुँडिखेलमा बसेर
खानुहुन्थ्यो ।
६. नारायणगोपालले पूर्व पश्चिम राजमार्ग
बनेका बेला हेटौंडामा कुल्लि कामसमेत गर्नु भएको छ । गीतकार भीम बिराग
भन्नुहुन्थ्यो,”म तबला बजाउँथे, वहाँ एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन
कुल्ली काम गर्नु भयो थाहा भएन । तर, लामो समय चाँहि गर्नु भएन ।”
७. काठमाण्डौंको एक भेटमा गायक प्रेमध्वज
प्रधान १३ साल तिरको कुरा सम्झँदै भन्नु हुन्छ- “त्यतिबेला १२-१३ जनाको
हामी एउट समुह थियो । नारायणगोपाल पनि हाम्रो टिममा थिए । हामी पालैपालो
गाउने अनि बजाउने गर्दथ्यौं । जब नारायणगोपालको पालो आउँथ्यो उनी गाउन
लजाउँथे र बजाइ मात्र रहन्थे । एक दिन साह्रै कर गरेपछि गाए । अनी मैले भने
यति राम्रो स्वर भएको मान्छे पनि लजाउने ? अब स्वर परीक्षा दिनुपर्छ भनेर
रेडियोमा मैले नै दिन मिलाएँ तर गाउने दिन त जानै मानेन । बल्ल बल्ल मैले
तानेर र योगेश बैद्यले पछाडिबाट धकेल्दै रेकर्डिङ रुममा पुर्यायौं ।
‘पंक्षीको पंखमा धर्तिको याद आयो’ गीत गाएर उनले स्वर परीक्षा पास गरे ।
नारायणगोपाल युगल गीत गाउन पनि लजाउँथे । रत्न शमशेर थापाको शब्दमा
सुरुतिरै आफ्नै संगीतमा तारादेबी सँग मिलेर गाउनु भएको ‘ए कान्छा ठट्टैमा
यो बैँस जान लाग्यो’ बोलको गीत एक अर्कालाई नहेरिकन गाइएको गीत हो ।
यतिसम्मकि संगै रेकर्ड पनि गरिएको होइन तर पछि यो गीत युगल गीतमा सबै भन्दा
बढ़ी लोकप्रिय बन्यो ।
८. नारायणगोपाल एकदिन रेडियो नेपाल पुग्नु
भयो, गीत नबजेर हैन बढि बजेर । वहाँ को ‘यो सम्झिने मन छ’ बोलको गीत
रेडियोमा बढ़ी बज्न थालेपछि वहाँले रेडियोमै गएर ‘कृपया मेरो एउटै गीतलाई
धेरै पटक नबजाइदिनुहोला, यसले गीत लोकप्रियता घट्छ’ भन्नु भएछ ।
९. नारायण गोपालकी पत्नी पेमला लामा
नारायणगोपाल सँगको पहिलो भेटलाई यसरी सम्झनु हुन्छ,’म सुकिया पोखरी
हाइस्कुलमा पढ्थेँ, हाम्रो फोटो आदान-प्रदान भई सकेको थिएन । मैले वहाँलाई
सुनेको आधारमा कवि कलाकार भनेको लामो-लामो कपाल, दाह्री, अग्लो, अनी पातलो
ज्यानको हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । एकदिन गोपाल योन्जन दाईले ल
नारायणगोपाल आउनुभाको छ हेर्न हिड भन्नुभयो । अनि उहाँलेनै चिनाइदिनु भयो ।
मैले त उहाँको साथी नगेन्द्र थापालाई पो नमस्कार गरेछु, मैले सोँचेको
भन्दा बिपरित पाएँ ।”
१०. नारायण गोपाल र पेमलाको पहिलो डेटिङ
दर्जिलिङको सुकिय पोखरीमा भएको हो । पहिलो भेट्मा नै पेमलाले
नारायणगोपाललाई प्रश्न गर्नु भएको रहेछ “आजको हाम्रो पहिलो भेटलाई गीत
बनाएर गाउँन सक्नु हुन्छ ?” नारायणगोपालले पनि स्विकार्नुभएछ । पछि आफ्नो
साथी नगेन्द्र थापालाई परिस्थिती अनुकुलको गीत लेख्न अनुरोध गर्नुभयो ।
नगेन्द्र थापा भन्नुहुन्छ, “उस्ले यदि तिमीले राम्रो गीत लेखेनौ भने म
कहिले पनि तिम्रो गीत गाऊदिन” भनेपछि मैले पनि लेखेँ ‘यो मौसम, यो हरियाली
।’ तर नारायणगोपालले पेमला कै लागि गाउनु भएको गीत चाहिँ चिनारी हाम्रो
धेरै पुरानो बोल को गीत हो । यो गीत उहाँले पत्रसंगै पेमलालाई चिनोस्वरुप
पठाउनु भएको थियो ।
११. “प्रोग्राम फिक्स्ड कम सुन” मैले
पठाएको टेलीग्राम यही हो । काठमाडौंको एक भेटमा संगीतकार कर्मा योन्जन
सम्झिनु हुन्छ “मलाई केही पनि थाहा थिएन दाईले यति गर्नु पर्छ है भन्नु भो
तर पछि त्यही टेलिग्राम देखाएर दर्जिलिङमा मेरो कार्यक्रम हुँदै छ म जानु
पर्छ भनेर घरबाट आउनु भएर पेमला सँग पो बिहे गर्नु भएछ, मैले पछि पो थाहा
पाएँ पछि बुवा-आमाले नभनेको भनेर साह्रै गाली गर्नु भो ।”
१२. अन्तर्जातिय विवाहको कारण नारायण
गोपालको घर सँगको सम्बन्ध केही समयको लागि बिग्रियो,त्यसपछि उहाँ भुपी
शेरचनका घरमा नि:शुल्क बस्दै आउनु भएको थियो तर निःशुल्क बस्नु श्रीमती
पेमलालाई उचित लागेन । पछि उहाँले पोखरा कै मैनादेवी माविमा पढाउँदै
त्यसैले घर खर्च जुटाउनु भयो ।
१३. नेपाली आधुनिक संगीतका पर्यायवाची
स्वर सम्राट नारायण गोपालले औपचारिक रुपमा कसैबाट पनि संगीतको शिक्षा लिनु
भएन । आफ्नै पितालाई प्रेरणाको रुपमा लिनु हुने नारायणगोपालले
मानविकीशास्त्रमा स्नातकोत्तर गर्नु भएको थियो भने संगीत पढ्न भारतको बढोधा
जानु भए पनि अध्ययन नसकी फर्किनु भएको हो । पप गीतको औपचारिक सुरुवत
ॐबिक्रम बिष्ट बाट भएको मानिए पनि नारायण गोपाललाई सुरुमा पप गीत गाएको भनी
आलोचना पनि गरिएको थियो, यती सम्मकी पिता आसागोपाल गुरुवाचार्यले छोरा
छाडा संगीतमा लाग्यो भनी संगीतबाट नै अलग गराउन समेत् खोज्नु भएको थियो ।
हुन पनि नारायण गोपालको सुरुतिर रेकर्ड गरिएका गीतहरु पप सैलीका नै पाईन्छ
जस्तै,“स्वर्गकी रानी, भो-भो मलाई नसोध”।
१४. नारायणगोपाल स्वाभिमानी गायक
हुनुहुन्थ्यो । आफुलाई मन नपरे पछि कसैसँग पनि डराउनु हुँदैन थियो । गीतकार
कालीप्रसाद रिजाल एक घटना सम्झिदै भन्नु हुन्छ “नारायण गोपालले कतिपटक
आफ्नै अगाडि गीत मन परेन भनेर च्यतिदिनु भाको छ । एकदिन फेरी उहाँले एउटा
गीत लेख म लिन आउँछु भन्नु भो । अब डर लाग्न पो थाल्यो, के लेख्ने ?
नराम्रो भए च्यतिदिनुहुन्छ । कस्तो लेख्ने भनेर साह्रै पिर पर्यो । तैपनी
लेखेँ । तीनदिन पछि उहाँ गीत तयार भयो त भन्दै घरैमा आउनु भयो । डराइ-डराइ
कोटको भित्री गोजीबाट दुइवटा गीत दिएँ । अनी वहाँले २ पटक ३ पटक सम्म पढ्नु
भयो र चिया पनि नखाइ जुरुक्क उठेर हिंड्नु भो । म झन अत्तिएँ, राम्रो पनि
भन्नु भएन, नराम्रो पनि भन्नु भएन । अब झन सम्बन्ध पो बिग्रियो क्यारे
भनेको त्यसको सात दिन पछि गीत सुनेँ दुबै गीत रेकर्ड गर्नुभएछ । गीत थियो
“झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी र आँखा छोपी नरोउ भनी भन्नु पर्याछ।”
१५. नारायणगोपाल हसाउनमा पनि निकै खप्पिस
हुनुउन्थ्यो । प्रेमध्वज प्रधान भन्नु हुन्छ -”उनी कहिले कसैको सैलीमा
समाचार भनेर त कहिले किशोर र रफिको गीत अर्कै सुरमा गएर रमाइलो गर्थे ।”
नगेन्द्र थापा भन्नु हुन्छ-” बीर अस्पातलको सैयामा नारायण पशुपतिनाथलाई
सम्झ है भन्यो उ चाँही के गर्ने नगेन्द्र जतिजति पशुपतिनाथ सम्झु भन्छु
त्यति त्यति जोगमेहरको अनुहार याद आउँछ भन्नु हुन्थ्यो ।” वहाँले पटकपटक
अफिस जान लगेकी पत्नीलाई लुकेर अर्कै स्वर मा “ओेइ नारायणगोपालकी बुढी कता
हिंडेकी हँ “भनेर जिस्क्याउने कुरा नारायणगोपाल कि पत्नी पेमलाले
सम्झनुहुन्थ्यो ।
एकदिन नारायणगोपाललाई कसैले सोधेछ “राम्रो
स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायक लाई के भनिन्छ?” प्रश्न
नसकिंदै जवाफ दिनुभएछ कोइला । साँच्चै नारायणगोपालको मुटु रक्सी र चुरोटले
कोइला जस्तै भैसकेको थियो । त्यसैले ५१ बर्षको उमेरमै वहाँको निधन भयो र
नेपाली संगीतको एउटा अध्याय यसरी बन्द भयो २०४७ मंसिर १९ गते । मृत्यु
सबैको नियती हो तर पनि जस्ले आफु बाँचेको समाज र देशका निम्ती योगदान दिएको
छ उ नै सच्चा सपुत कहलाउँछ । त्यसैले नारायणगोपाल नेपाल आमाका सच्चा सपुत
हुन् । नेपाली संगीतमा उनको नाम सधैं श्रद्धापूर्वकलिइनेछ । वहाँको २३ औं
पुण्य स्मृतिमा वहाँप्रति हार्दिक श्रद्धा सुमन ।
हाम्रो ईन्टरनेट रेडियो अष्ट्रेलिया
Loading...