.

दयाहाङ राई कहिल्यै निखिल जस्तो बन्न सक्दैन : निखिल उप्रेती

चलचित्र ‘पिँजडा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका स्टार नायक निखिल उप्रेतीले हालसम्म डेढसयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
उस्तै धार र भूमिकाको अभिनयमा देखिने नायक निखिल उप्रेतीका फ्यानले उनको एक्सनको तारिफ गर्छन् । तर उनका आलोचक भने सधैं उही ढर्राको अभिनय गरिरहेको आरोप लगाउने गर्छन् ।
‘मलाई अफर नै त्यस्तै आउँछ, मैले निर्देशकलाई फरक भूमिकामा अभिनय गराउन आग्रह गर्छु,’ आफूले फरक भूमिका गर्न चाहेको समेत स्पष्ट पार्दै उनी थप्छन्, ‘फिल्मले निखिललाई सधैं उफार्न मात्र खोज्छन्, उस्तै भूमिका लाग्नुको कारण मेरो मात्र गल्ती होइन नि ।’
एउटा पूरै चलचित्र राम्रो बन्नका लागि एउटा कलाकारको मात्र भूमिका हुँदैन भन्छन् निखिल । फिल्म राम्रो बन्ने टिमवर्कले हो । तर नेपालमा भने एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ ।
‘यहाँ निन्दा धेरै हुन्छ त्यसैले अझै पनि विदेशी चलचित्रले हाम्रो बजार खाइदिएका छन्,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति नेपालमा मात्र हुन्छ ।’nikhil-uprety_1
‘भारतीय स्टार रजनीकान्त र हलिउड स्टार टम क्रुजको पनि अभिनय उस्तै खालको हुन्छ, तर यस्तो प्रश्न सोधिँदैन नि,’ उनी असहमति जनाउँदै भन्छन्, ‘दयाहाङ निखिल टाइपको कहिल्यै हुन सक्दैन, निखिल दया टाइपको कहिल्यै हुन सक्दैन ।’
यद्यपि पछिल्लो पुस्ताका कलाकारसँग पनि निखिलले स्क्रिन शेयर गरेका छन् । पुराना पुस्ता र पछिल्ला पुस्तासँग काम गर्नुको उनको अनुभव नौलो छ । नयाँ पुस्तामा उनले नयाँ जोश र आशा देखेका छन् । तर थिएटरबाट फिल्ममा आएका कलाकारमा पनि एउटै ‘ट्रेन्ड’ भएको उनी बताउँछन् ।
‘अहिले मलाई उस्तै अभिनय गरेको भनेर प्रश्न तेर्स्याइन्छ, अबको केही वर्षमै उनीहरूलाई पनि त्यही प्रश्न सोधिनेछ,’ निखिल भन्छन्, ‘हामीलाई निर्देशकले नै अभिनय गराउन नसकेका हुन् ।’
चलचित्रमा स्थापित भइसकेका यी नायक नायिका सञ्चिता लुइँटेलसँगको बिहेपछि भने केही समय सिनेजगतबाट टाढा रहे ।
चलचित्र ‘भैरव’ मार्फत चलचित्रमा पुनः कमब्याक भएका यी नायकले पछिल्लो समय निर्माण र निर्देशनमा पनि आफूलाई साथै लैजान थालेका छन् । पछिल्लोपटक चलचित्र ‘भैरव’, ‘किङ’, ‘लुटेरा’, ‘निर्भय’ लगायतका चलचित्रमा अभिनय गरेका उप्रेतीको ‘राधे’ शुक्रवार रिलिज भएको छ ।
प्रायः बलवान प्रहरीको भूमिकामा देखिएका यी नायक प्रस्ताव नै यस्तै आएर सधैं प्रहरीको भूमिकामा देखिएको बताउँछन्, ‘सधंै उस्तै प्रस्ताव आएर कतिलाई त मैले इग्नोर पनि गरेको छु, तर प्रहरीको भूमिकामा पनि विविधता हुन्छ,’ उनी भन्छन्, ‘राधेमा भएको प्रहरी र निर्भयको प्रहरी एउटै छैन, दुवैका आफ्नै कथा छन् ।’
चलचित्र ‘राधे’ मा अवस्थाले मान्छेलाई कस्तो स्थितिसम्म पु¥याउँछ भन्ने कथानक रहेको उप्रेती बताउँछन् ।
उप्रेतीलाई निर्देशक तथा निर्माताले प्रचारका लागि समय नदिएको पनि आरोप लगाउने गर्छन् । तर उनी यो आरोप स्वीकार्न भने तयार छैनन्, ‘निर्देशकको वश चले त यहाँ पोस्टर टाँस्न लगाएर मेरो फिल्मको पोस्टर बाङ्गो टाँस्यो भन्न पनि पछि पर्दैनन्,’ उनी भन्छन्, ‘म मिडियासँग एउटा प्रक्रिया बनाएर जाऊँ भन्ने गर्छु, निर्देशकले नबोलाएर नै म मिडियामा आउन पाउँदिनँ ।’
आफूले मिहिनेत गरेको काम फ्लप होस् भन्ने सोच आफ्नो नभएको समेत निखिल स्पष्ट पार्छन् । ‘मेरो दुईवटै खुट्टा भाँचिएको छ, धेरै स्टन्ट मैले अरूकै फिल्मका लागि दिन्छु भन्ने त सबैलाई थाहा होला,’ उनी तर्क गर्छन् ।
केही चलचित्र रिलिजको पाइपलाइनमा भएपनि निखिल भने अहिले आफ्नै निर्देशनमा निर्माण गर्न लागेको नयाँ चलचित्र बनाउने योजनामा लागेका छन् । सत्तरी प्रतिशतभन्दा बढी भारतीय कलाकारलाई लिएर तीन भाषामा निर्माण गर्न लागिएको चलचित्रको नाम भने अझै जुरेको छैन ।
‘फिल्म नेपाली नै हो, तर हामीले तीन भाषामा निर्माण गर्न लागेका छौं,’ उनी थप्छन्, ‘फिल्ममा ७० प्रतिशत हिन्दी डायलग हुनेछन् । सम्भवतः चलचित्रको छायांकनका लागि मात्र तीन करोड लाग्नेछ ।’
नेपाली बजारलाई व्यापक बनाउनकै लागि उनले यति महंगो प्रोजेक्ट गर्न लागेको पनि निखिल बताउँछन् ।
source: ebreakingkhabar.com
Loading...
Share on Google Plus