.

मुसहरका ‘राम–सीता’

01धुर्मुस–सुन्तली नेपाल सरकारले घोषणा गरेको पुनर्निर्माण र सरसफाइका सद्भावना दूत हुन् । त्यस क्रममा मेची–महाकाली सरसफाइ अभियानमा जुटे । १२ वैशाख ०७२ को विनासकारी भूकम्पपछि भने यो दम्पतीको ध्यान समाजसेवामा केन्द्रित भएको छ । काभ्रेको पहरी, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको मुुुसहर एकीकृत बस्ती बनाएर उदाहरण नै बनेका छन्, दुवै ।
चाह्दाँ जे पनि सम्भव छ भनेर सिद्ध गरेका छन् । महोत्तरीको बर्दिवासनजिकको मुसहर बस्तीकी एक सय तीन वर्षीया मरनीदेवी सदाका लागि पक्की घर सपनामा पनि थिएन । उनले जीवनका धेरै वसन्त खरको छाप्रोमा बिताइन् । एक शताब्दीसम्म ओढ्ने र ओछ्याउनेबिना परालको बिछ्यौनामा सधैं गुडुल्किएर सुत्नु पर्‍यो ।
जीवनको उत्तराद्र्धमा भने उनले पाँचकोठे पक्की घर पाएकी छन् । मरनीदेवीझैं महोत्तरीको बर्दिवास २ मुसहर बस्तीका ५० परिवारको नयाँ जीवन शुरु भएको छ । बस्तीको छेवैमा विद्यालय थियो । मुसहर बालबालिका नांगै फोहोरमा खेल्थे तर पढ्न जाँदैनथे । अहिले ६० भन्दा बढी बालबालिका विद्यालय जान थालेका छन् । दाउरा बेचेर जीवन निर्वाह गर्ने मुसहरको भान्सामा ग्यास चुलो जोडिएको छ अहिले । कुनैबेला अति विपन्न र कुरूप मुसहर बस्ती अहिले नगरकै उज्यालो र नमुना बनेको छ ।
2_3
विपन्न दलित मुसहरको बस्ती परिवर्तन गरे, हास्य कलाकार जोडी धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)ले । उनीहरूले दुई वर्षयता तीन वटा एकीकृत बस्ती निर्माण गरेका छन् । समाजसेवामा समर्पणका कारण यो जोडी चर्चाको शिखरमा छ । धन भएर मात्र हुँदैन, मन हुने हो भने ठूल्ठूला काम फत्ते गर्न सकिने उदाहरण बनेका छन् उनीहरू ।
बस्ती निर्माणको कथा
२९ माघ ०७१ मा सरकारले ‘धुर्मुस–सुन्तली’लाई सरसफाइ सद्भावना दूत घोषणा गरेको थियो । सोही क्रममा मेची–महाकाली सरसफाइ अभियानमा जुटे दुवै । सरसफाइको दयनीय अवस्था देखेर उनीहरू त्यसका लागि सहयोग जुटाउन अमेरिकामा १७ वटा कार्यक्रम लिएर गए । फोहोर सफा गर्ने गाडी र एक करोड रुपैयाँ जुटाउने उनीहरूको लक्ष्य थियो । ‘हामी डालो लिएर जान्थ्यौँ । दर्शकले कार्यक्रम हेरेर पैसा हाल्थे,’ धुर्मुस भन्छन् । नवौं कार्यक्रम चलिरह“दा नेपालमा १२ वैशाख ०७२ मा विनासकारी भूकम्प गयो । टेलिभिजनमा भूकम्पले सबै तहसनहस भएको देख्दा दुवैको होसहवास उड्यो । केही सोच्नै सकेनन् । त्यतिबेला अमेरिकामा हुँदाको स्मरण गर्छन् धुर्मुस, ‘कार्यक्रम स्थगित गर्न भने पनि आयोजकले मानेनन् । बोल्न नसकेर थचक्कै बसेँ । हामी तपाईंको साथमा छौँ ।
नेपालीको दुःखमा साथ र सहयोग गर्छौँ भनेर दर्शकदीर्घाले ढाडस दियो ।’ कार्यक्रममा जम्मा भएको साढे १६ लाख र आयोजकले थप ५० हजार गरी १७ लाख रुपैयाँ बोकेर उनीहरू १९ वैशाखमा काठमाडौं ओर्लिए । उक्त रकमले पीडितलाई लत्ताकपडा बाँडे । करङका ६ वटा हड्डी भाँचिएर सुन्तलीकी आमा थिलोथिलो भएकी थिइन् । उनीहरूले अभिनय गरिरहेको टेलिसियल ‘मेरी बास्सै’ का सहकर्मीहरूका घर भत्केर बिजोग थियो । कोही घाइते थिए । २० वैशाखमै उनीहरू एक हजार त्रिपाल, राहत सामग्री र गणेशमान सिंह अस्पतालका चिकित्सक साथमा लिएर भूकम्प प्रभावित ११ जिल्लातिर हान्निए ।
सन् २०१० मा हाइटीमा भूकम्प जाँदा हताहती बढ्नुको कारण महामारी थियो ।
1_4
धुर्मुस–सुन्तलीले त्यही जोखिम देखे नेपालमा पनि । त्यसैले शौचालयसहितका अस्थायी टहरा निर्माणमा उनीहरूको ध्यान गयो । नुवाकोट ओखरपौवास्थित महालक्ष्मी निमाविको भवन पाँच दिनमै निर्माण गरेर हस्तान्तरण गरे । त्यसपछि त परिवार र पेसा नै छाडेर समाजसेवामा होमिए ।
घर बेच्ने योजना
धुर्मुस–सुन्तलीले काभ्रेको पहरी बस्ती बनाउने घोषणा गरे । काम शुरु गरियो तर रकम अभाव थियो । पैसाकै कारण बस्ती नबन्ने भयो । एक दिन दुवै त्रिपालमा बसेका थिए । झमझम पानी परिरहेको थियो । धुर्मुस निकै तनाबमा थिए । त्यहीबेला सुन्तलीले घर बेचेर बस्ती बनाउने प्रस्ताव गरिन्, धुर्मुसले पनि माने । घर बेचेर बस्ती बनाउने कुरा सञ्चारमाध्यममा आएपछि शुभचिन्तकहरूबाट आफैंलाई बेघर नबनाउन सन्देश आयो । मनकारीको साथ पाएपछि उनीहरूले घर बिक्री गर्नु परेन । सुन्तलीले त्यतिबेलाको तनाब सम्झिइन्, ‘७७ दिनसम्म बारीका पाटामा सुतेर धुर्मुसले ७८औं दिनमा मात्र छोरीसँग भेट्न पाएका थिए ।’
राष्ट्रिय सरसफाइ अभियानका क्रममा यो दम्पतीले महोत्तरीको बर्दिवास पुगेर अन्तत्र्रिmया कार्यक्रम गरेको थियो । सोही क्रममा मुुसहर बस्तीबारे थाहा पाएको थियो । ‘बस्तीमा पुग्दा रुन मन लाग्यो । नजिकैको बर्दिवास शहर निकै राम्रो थियो । छेउको मुुसहर बस्ती भने निकै पिछडिएको,’ धुर्मुस भन्छन्, ‘सानो छाप्रोमा ८/८ जना सुत्थे । ओढ्ने ओछ्याउने केही थिएन ।’
5_1
पहिलो पटक पुग्दा उनीहरूले कलाकार भनेर परिचय दिएनन् । अमेरिकामा बस्ने नगेन्द्र ढकालले पाँच लाख ५० हजार भूकम्पपीडितको सहयोग रकम मुसहरका लागि खर्च गरिएको थियो । मुसहर बस्तीमा ‘न्यायो लुगा’ सहयोग गर्न पुगेका धुर्मुुस–सुन्तलीले बस्ती नै बनाए । यो दम्पती मुसहर बस्तीका लागि अहिले ‘राम–सीता’ भएको छ । धुर्मुुस–सुन्तलीलाई बस्तीमा ल्याउने अन्नपूर्णकर्मी राजकरण महतोलाई भने मुसहरहरू ‘हनुमान’को संज्ञा दिन्छन् ।
मनका धनी
आफूसँग पैसा नै नहुँदा पनि सहयोगी खोज्दै बस्ती निर्माणमा जुटे दुवै । ११ करोड रुपैयाँभन्दा बढी लागतमा तीन बस्ती बनाउने धुर्मुस सम्पन्न परिवारका व्यक्ति होइनन् । ३३ वर्षअघि सोलुखुम्बुको नेचा बेतघारीमा सामान्य परिवारमा जन्मेका हुन् । उनी आठ वर्षको हु“दा बाबु–आमा झापाको गौरादह झरे । निमावि पढ्दादेखि नै बिहानभरि हलो जोतेर विद्यालय जान्थे ।
नौ कक्षामा हुँदा एक शिक्षकको क्यारिकेचर गरे, सुन्नेहरू पेट मिचीमिची हा“सेका थिए त्यतिबेला । नक्कल गरिएका शिक्षक पनि हाँसे तर कार्यक्रम सकिएपछि ‘मेरो खिसि गरिस्’ भनेर पिटे । ‘सरको त्यही पिटाइ मेरा लागि प्रेरणा बन्यो,’ धुर्मुस सम्झिन्छन् । २०५८ सालमा गाउँकै ज्ञानज्योति माविबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । काठमाडौं पढ्न जाने उनको चाहना बाबुले पूरा गरिदिए ।
7
काठमाडौंको महँगीमा उनको बसाइ सहज भएन । क्याम्पस भर्नाका लागि ल्याएको पैसा कोठा भाडा तिर्दै सकियो । उनी भुँइमै सुते । उनी पेन्टिङ गर्थे, तुल ब्यानरमा लेख्थे । तर, खर्च जुटेन । निरास उनी ‘बाईबाई राजधानी’ भन्दै झापा फर्किए । घरमा पनि मन अडिएन, पुगेको दुई साताभित्रै फेरि राजधानी फर्किए । फेरि, संघर्षको दिन शुरु भयो । अर्काको खाना पकाउने, भाँडा माझ्ने र पसलमा समेत काम गरे । डोको बोकेर ‘आयो आयो कराही आयो’ भन्दै काठमाडौंका गल्ली चहारे ।
मैतीदेवीको किराना पसलमा नक्कली सामान बेच्छस् भनेर कुटाइ खाएर नाथ्री फुटेपछि भने उनले त्यो पेसा पनि छाडे ।चाबहिलमा एक जना टाइसुट लगाएको मान्छेले होटलमा लगेर खसीको मासु–भात खुवाए उनलाई । र, पाँच सय रुपैयाँ दिएर कलेज भर्ना हुन प्रेरित गरे । रत्नराज्य क्याम्पसको स्वागत कार्यक्रममा क्यारिकेचर गर्ने क्रममा जितु नेपालसँग भेट भयो । नेपालले गीताञ्जली कार्यक्रम चलाउँथे । ०६० सालतिर उनले ‘गीताञ्जली’ को स्क्रिप्ट लेख्ने मौका पाए ।
‘आगो निभाऊ’ नाटकका क्रममा केदार घिमिरे ‘माग्ने बुढा’सँग उनको भेट भयो । यही भेटपछि केदार–सीताराम जोडी भयो । लोकप्रिय हास्य शृंखला ‘मेरी बास्सै’का कारण उनीहरूको जोडी घनिष्ठ बन्यो । टेलिसिरियल ‘देवी’मा पूर्णेको भूमिका निर्वाह गर्ने शिवहरि पौडेलको उनी दुरुस्त नक्कल गर्थे । हास्यव्यंग्यबाट पनि जीविका चलाउन सक्नेमा उनको भरोसा थियो । कलाकारिता उनको दिल–दिमागमै थियो । क्यारिकेचर गरेको भरमा साथीले खाजा खुवाउँथे, उनी त्यसैमा छाक टार्थे । काम गर्दै पढेका उनले बीए तेस्रो वर्षमा राजनीतिशास्त्र विषय मात्र कटाउन सकेनन् । र, त्यतिमै उनको शिक्षामा ‘ब्रेक’ लाग्यो ।
6_1
उनले ‘लौन सतायो’, ‘झमेला’, ‘जिरे खुर्सानी’ र ‘तीतो सत्य’ टेलिसिरियलमा पनि खेले । ‘जिरे खुर्सानी’को ‘टपे’ पात्र दर्शकले निकै रुचाए । उनलाई ‘धुर्मुस’ भने ‘मेरी बास्सै’ ले बनायो । धुर्मुस पात्र निकै चाँडो लोकप्रिय पनि भयो । ‘मेरी बास्सै’का ‘खड्का जी’, ‘मुस्कान पासा’, ‘केपी ओली’, ‘खडानन्द गुरू’, ‘भुतेश्वर’, ‘आइते’जस्ता पात्रका संवाद पनि जनजिब्रोमा रहे । ‘मेरी बास्सै’मा मात्र उनले ४४ वटा पात्रको अभिनय गर्न भ्याए । अहिलेसम्म पाँच दर्जन पात्रको अभिनय गरिसकेका छन् ।
‘मेरी बास्सै’ मा पाँच भागसम्म काका–भतिजी बनेर कुञ्जनासँग अभिनय गरे, जुन दर्शकले रुचाएनन् । ‘धुर्मुस–सुन्तली’ पात्र हिट नै भयो । त्यसपछि त उनीहरूले देश/विदेशका कार्यक्रमबाट आम्दानी गर्न थाले । ‘मेरी बास्सै’बाट उनका दिन फिरे । ‘धुर्मुस–सुन्तली’ हास्यजोडीमा मात्र सीमित भएन, १४ मंसिर ०६५ मा दाम्पत्यमै बाँधिए उनीहरू । यही नामबाट उनीहरूले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ नामक संस्था खोलेर समाजसेवामा लागेका छन् । यो दम्पतीको ०७० सालमा छोरी जन्मिइन् ।
आठमहिने दूधे छोरी ‘सुबिहानी’ छाडेर यो दम्पती सरसफाइमा जुटेका थिए । पछिल्लो चल्तीका ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा अभिनय मात्र गरेनन्, निर्माता पनि भए । टेलिसिरियलमा जस्तै फिल्ममा पनि उनीहरूले सफलता पाए । सानैदेखि मह जोडी उनले सबैभन्दा बढी श्रद्धा गर्ने कलाकार हुन् । आफूले सम्मान गर्ने कलाकारलाई आफूहरूले निर्माण गरेका तीन वटै बस्तीको शिलान्यास र हस्तान्तरणमा सहभागी बनाउन पाउँदा दंग छन् ।
देश बनाउने आँट
सरकारले पुनर्निर्माणको काममा ढिलाइ गरेको छ । १० फागुन ०७३ मा सरकारले धुर्मुस–सुन्तलीलाई पुनर्निर्माण सद्भावना दूत घोषणा ग¥यो । सरकारलाई धुर्मुसको सुझाव छ, ‘जुन जिल्लाले सबैभन्दा छिटो काम सम्पन्न गर्छ । जिल्ला अधिकृतलाई पुरस्कार वा सम्मान गर्ने भनेपछि प्रतिस्पर्धाका आधारमा काम समयमै सकिन्थ्यो ।’
8_1
फाउन्डेसनको काम देखेर हरिवंश आचार्यले त पुनर्निर्माण प्राधिकरणको सिईओ नै धुर्मुसलाई बनाउन प्रस्ताव गरेका थिए । धुर्मुस पनि जिम्मेवारी पाए देश बनाउने महत्वाकांक्षी योजना बताइरहेका छन् । उनको सुझाव छ, ‘१८ वर्ष पार गरेका युवालाई एकदेखि तीन वर्ष अनिवार्य श्रमदान गर्न लगाउने र कैदीलाई श्रममा लगाएर सजाय अवधिबाट पाप पखाल्ने अवसर दिनुपर्छ ।’ दलप्रति धुर्मुसको कडा टिप्पणी छ, ‘दलले झण्डा बोक्न सिकाए तर जनतालाई आत्मनिर्भर हुन सिकाएनन् ।’
केही समययता यो दम्पतीले पेसालाई थाती राख्यो । आफन्त परिवारलाई समय दिएन । नितान्त समाजसेवामा लाग्यो । तीन वटा बस्ती बनाएपछि फाउन्डेसनप्रति मानिसको भरोसा बढेको छ, सँगै थपिएको छ चुनौती पनि । ‘सधैं अरूसँग पैसा मागेर काम गर्न गाह्रो छ,’ धुर्मुस भन्छन्, ‘धेरैको सहयोग र आर्शीवाद पायौँ । अझै धेरै गर्न बाँकी छ ।’
अहिले नै अर्को बस्ती बनाउने फाउन्डेसनको कुनै योजना छैन । सरकारले चाहेमा फाउन्डेसनले पुनर्निर्माणको काममा सरकारलाई सघाउनेछ । ‘३÷४ महिनामै १५ सय घरको बस्ती बनाउन सक्ने भएका छौँ । हामीसँग अनुभवी मिस्त्री र श्रमिक छन् । कुनै ठूलो संस्थासँग सहकार्य गरेर पनि अगाडि बढ्न सक्छौँ,’ धुर्मुस भन्छन्, ‘म मेरो देश बनाउन सक्छु भन्ने आँट छ ।’
10_1
फाउन्डेसनलाई साझा संस्था बनाउने उद्देश्यले ‘सामाजिक अभियन्ता’ सदस्यता वितरणको तयारीमा छन्, जसले देश निर्माणमा मद्दत गर्नेछ । फाउन्डेसनले सिंगो देशलाई बालमैत्री बनाउने अर्को अभियान पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ । त्यसपछि ‘पूर्ण सरसफाइयुक्त देश’ बनाउने अभियानमा लाग्ने योजनामा छन् । धुर्मुस भन्छन्, ‘देश सफा भयो भने मान्छेको सोच र दिमाग सफा हुन्छ ।’सुन्तलीबारे धुमुर्सको टिप्पणी छ, ‘उनी मेरा लागि पहिले साथी अनि प्रेमिका, पछि श्रीमती र पीडितकी आमा हुन् । उनी मेरो अक्सिजन र सबैथोक हुन् ।’
‘सरकारलाई चुनौती’
१२ कात्तिक ०७३ मा गिरानचौरको बस्ती हस्तान्तरण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सरकारलाई चुनौती’ भएको बताएकी थिइन् । धुर्मुस र सुन्तली दुवै यस्तो ठान्दैनन् । उनीहरू देशका धेरै ठाउँमा प्वाल परेको देख्छन् । आफूले गरेको कामबाट एउटा मात्र प्वाल टाल्न मद्दत गरेको बताउँछन् । धुर्मुस भन्छन्, ‘हामी सरकारभन्दा माथि हुनै सक्दैनाैँ ।
तर, हरेक व्यक्ति पनि एउटा सरकार हो भनेर काम गरिरहेका छौँ ।’‘यो सरकारलाई सघाउने अभियान हो,’ सुन्तली भन्छिन्, ‘विदेशमा रहेका नेपालीलाई स्वदेशमै केही गरौँ भन्ने भावना जागृत गर्ने पनि हो ।’ समाजसेवामा लाग्दा धुर्मुस–सुन्तली कतै कलाकारिताबाट हराउने हुन् कि भन्ने चासो छ । उनीहरू भन्छन्, ‘कलाकारितामै फर्कन्छौँ । समाजसेवालाई पनि निरन्तरता दिन्छौँ ।’ दम्पतीले आत्मसन्तुष्टि व्यक्त गरे, ‘कलाकारिताबाट हँसाएका थियौँ । बस्ती बनाएर पनि पीडितको मुहारमा हाँसो र उज्यालो छर्न सकेका छौँ ।’
धुर्मुस सुन्तलीका तीन बस्ती
3_3
धुर्मुस–सुन्तलीले पहाड र तराईका तीन वटा एकीकृत बस्ती बनाए । दुई वटा भूकम्पपीडितका हुन् भने एउटा मुसहरको ।
काभ्रेको पहरी
काभ्रेको पाँचखाल १६ डाँडागाउँमा धुर्मुस–सुन्तलीको अगुवाइमा १७ जेठ ०७२ मा पहरी बस्ती शिलान्यास भई २७ साउनमा हस्तान्तरण गरिएको थियो । ‘मेरी बास्सै’, ‘भद्रगोल’ र सामाजिक सञ्जाल ‘सगुन डटकम’ को सहकार्यमा यो बस्ती निर्माण भएको थियो । यसको लागत ६७ लाख ३६ हजार आठ सय २६ रुपैयाँ थियो । बस्तीमा घरको शौचालय, अतिथि कक्षसहितको जस्ताको छाना भएको तीनकोठे २० वटा घर छन् । पाँच वटा बायोग्यास, २१ शौचालय, २० वटा खानेपानीको धारा र २० वटा डिस होमसमेत जडान गरिएको छ । एउटा सोलार प्यानलबाट सबै घरमा १÷१ वटा बत्ती बल्छन् ।
सिन्धुपाल्चोकको गिरानचौर
राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको लाप्राक र तत्कालीन प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोक चौताराको मगर बस्ती पुनर्निर्माणको थालनी गरेकै दिन मेलम्ची ८ को गिरानचौरस्थित तामाङ बस्तीको पनि शिलान्यास भएको थियो । १२ वैशाख ०७३ अर्थात् भूकम्प गएको ठ्याक्कै वर्षदिनमा उनीहरूले आफ्नो काम अगाडि बढाएका थिए । १२ कात्तिक ०७३ मा राष्ट्रपति भण्डारीले बस्ती हस्तान्तरण गरेकी थिइन् । ३५ रोपनीमा एउटा सामुदायिक भवनसहित ६६ वटा घर बने, जसमा बालबालिकाका तीनसहित सात वटा पार्क, तीन प्रतीक्षालय, सार्वजनिक बालमैत्री धारा नौ र सार्वजनिक शौचालय पाँच वटा बनेका छन् । बस्ती बाल र अपांगमैत्री छ ।
बस्तीमा सोलारजडित दुईतले घर छन् । बस्ती निर्माणमा पाँच करोड १५ लाख रुपैयाँ लागत छ । फाउन्डेसनकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुल्चोकले साढे आठ किलोमिटर तल सिन्धुखोलाबाट बस्तीमा ‘लिफ्ट’ प्रविधिबाट पिउने पानी पुर्‍याएको छ ।
महोत्तरीको मुसहर
फाउन्डेसनले ‘राष्ट्र निर्माण तपार्इं हाम्रो अभियान ः मानवता र सद्भावका लागि सहकार्य’ भन्ने मूल नाराका साथ महोत्तरीको बर्दिबास २ स्थित एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको छ । २५ पुस ०७३ मा शिलान्यास गरी १ वैशाख ०७४ मा बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । बस्तीमा ५० वटा मुसहरका साथै सुनार, मगर र भुजेलका अन्य तीन गरी ५३ वटा पाँचकोठे भवन बनाइएको छ । बस्तीमा सामुदायिक भवन, भ्युटावर, मुुसहरले पूजा गर्ने दिनाभद्रीको मन्दिर, बाल उद्यान र प्रतीक्षालयसमेत छ । बस्तीभित्रको बाटो पक्की छ । हरेकका घरमा खानेपानीको धारा पनि छ ।
source:today.annapurnapost.com
Loading...
Share on Google Plus