.

पारस खड्का भन्छन्–म नखेल्दा पनि नेपालले जित्छ दुःखी हुन पर्दैन

काठमाडौं, फागुन २५ – आइसिसी विश्व क्रिकेट लिग डिभिजन च्यम्पियनसिप अन्तर्गत आगामी शनिबार केन्यासँग खेल्न नेपाली टोली तम्तयार अवस्थामा रहेको छ । खेल हुने त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीले बिहानदेखि बेलुबासम्म अभ्यास गरेका देखिन्छन् । कुनै समय विश्वकप क्रिकेटमा पनि दवदवा जमाएको केन्यासँग खेल्न नेपाल खेलाडी आतुर छन् भने नेपाली मैदानमा हुने खेलमा नेपाली टोलीले जुनसुकै टिमलाई पनि हराउन सक्छ भन्ने जोश देखाएका छन् । 
तर नेपाली टिमका खम्बा मानिएका कप्तान पारस खड्काको केहीदिनअघि पेटको अप्रेसन गरेकोले उनी खेल्ने नखेल्ने टुंगो छैन् । केन्याविरुद्धको खेलमा पारसको जादु हेर्न पाउने नपाउने अन्यौल हुँदा क्रिकेटका लाखौं समर्थक त दुखी भएका छ्रन् नै स्वएम् पारसले पनि घुमाउरो पारामा दुःख पोखे । 
‘खेल्न मन छ, म भरपुर प्रयास गर्नेछु, म पूरै फिट भएँ भने पक्कै पनि मैदानमा उत्रनेछु तर के हुन्छ थाहा छैन’ केन्याविरुद्धको खेलमा आफ्नो उपस्थिति अन्यौलमै रहेको संकेत गर्दै पारसले उज्यालो अनलाइनसँग भने, ‘म खेलिन भने पनि म जस्तै खेल्न सबै खेलाडी तयार छन्, नेपालले जित्न सक्छ कोही पनि दुःखी हुनुपर्दैन ।’
कप्तान पारसले नेपाली टोलीमा युवाका वर्चश्व रहेकोले कुनै पनि खेलाडीको अनुपस्थितिमा खेल खस्कने अवस्था नरहेको पनि बताएका छन् । ‘कप्तानको रुपमा मैले नेपाली टोलीको लागि केही योगदान गरेको छु होला तर अरु खेलाडीले पनि त मैले भन्दा बढी योगदान गरेका छन् नि, त्यै भएर म विना नेपाली क्रिकेट अधुरो हुन्छ भन्नु त एकदमै गलत हो’ पारसले भने ।
केन्याको प्रदर्शन पछिल्लो समय खस्किएकोले उसँगको खेलमा उतिसारो डराउनु नपर्ने पारको ठम्याइ छ । ‘कुनै समय उनीहरु विश्वकपमा पनि राम्रो खेलेका थिए, तर अहिले हाम्रै लेभलमा आइसकेका छन्, हामी भन्दा निकै ठुलो टिम हो भनेर डराउनुपर्ने अवस्था छैन्’ पारसले उज्यालोसँग  भने । 

प्रशिक्षक टमाटा भन्छन्, पारसको अन्योल कायमै छ, उसको ठाउँमा खेल्ने खेलाडी पनि छन्

कप्तान पारस खेल्ने नखेल्ने टुंगो नलाग्दा प्रशिक्षक जगत टमाटा पनि दुःखी नै छन् । त्रिवी मैदानमा खेलाडीलाई अभ्यास गराउन ब्यस्त टमाटाले सुरुमा त पारसको अभावमा पनि टिम पूरै तयारी अवस्थामा रहेको सुनाए । तर उनिपनि पारसको स्वास्थ्य अवस्थाबाट दुखी नै छन् । ‘अहिले उ प्राक्टिस गरिरहेको छ, खेल्ने नखेल्ने टुंगो लागेको छैन् हेरम त्यो दिनसम्म के हुन्छ’ प्रशिक्षक टमाटाले भने । 
यदी पारस खेलेनन् भने विकल्प के सोच्नुभएको छ ? टमाटाले भने, ‘तीनदिन भयो उसले अभ्यास गर्न थालको पुरै एफोर्ट लगाउन सकेको छैन्, तर उसको विकल्पमा कसलाई खेलाउने भनेर हामीले मोटामोटी तयारी गरेकै छौं’ ।

सन्दिप लामिछाने भन्छन्, दुईवटै खेल जितेर तपाईंहरुलाई खुशी दिन आतुर छौं

पछिल्लो समय नेपाली टोलीका खम्बाका रुपमा रहेका युवा बलर सन्दिप लामिछानेले पनि केन्याविरुद्धको खेलको लागि आफूहरु उत्साहित रहेको बताए । केन्यालाई एकदमै बलियो ठानेर डराउने अवस्था नरहेको उनि बताउँछन् । ‘१५ हजार दर्शकसामु हामीले खेल्दा निकै रमाइलो हुनेछ,त्यो दिनको प्रतिक्षामा छु’ सन्दिपले उज्यालो अनलाइनसँग भने, ‘अभ्यास निकै राम्रो भैरहेको छ, दुईवटै खेल जितेर तपाइँहरुलाई खुशी दिन हामी आतुर छौं ।’
विश्व क्रिकेट लिगको शिर्ष चार स्थानमा रहेर सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुन पाउनेछ । ८ खेलेको नेपालको ६ र समान खेलेको केन्याको ८ अंक भएकोले क्वालिफायर छनौटको आसा जीवित राख्न नेपालले केन्यालाई दुईवटै खेलमा हराएर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ । त्यसपछि हङकङ र युएईलाई पनि हराउनैपर्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी देशको अंक  यहाँ हेर्न सकिन्छ ।
लिगमा भएका ८ वटा खेलमा नेपालले ३ वटामा जित र ५ वटामा हार बेहोरेको छ । तर अहिलेसम्म अपराजित नेदरल्याण्डसलाई हराएर नेपालले आफ्नो क्षमता भने देखाइसकेको छ । कीर्तिपुर मैदानमा गएको वैशाखमा २ वटै खेलामा जसरी नेपालले नामिबियालाई हराएको थियो, केन्याविरुद्ध पनि त्यस्तै जित हेर्न लाखौं क्रिकेटप्रेमि आतुुर छन् । 
source:http://ujyaaloonline.com
Loading...
Share on Google Plus