काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।
समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’का विजयीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो ।फ्री फल जम्पमा हुद्धा रुवेन पतवार प्रथम हुनुभयो भने द्वितीय पुरस्कार जमदार अर्जुन गौतमले प्राप्त गर्नुभएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल, तेक्वान्दो, महिला सैनिकबाट पिटी, आइकिदो र खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो ।
समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्ती पनि समारोहमा सरिक हुनुभई शिवरात्री बढाईँको अवलोकन गर्नुभयो । रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो । शिवरात्रि तथा सेना दिवसमा विशेष समारोहको अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको केही टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए ।
यसअघि समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गर्नुभयो । प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो । रासस
Loading...