.

‘म आफ्नो एक्लो जिन्दगीसँग एकदमै खुशी छु’

‘एक्लो जीवन बाँच्नुको मज्जा नै बेग्लै हुन्छ । मेरो डिर्भोस भएकै आज १४ वर्ष भइसक्यो । त्यसैले म रमाइलो जिन्दगी बाँचिरहेकी छु । जोडी कमाउन नसकेको पनि होइन । यो हाम्रो जिन्दगीमा घटि रहने कुरा हो । यसलाई ठूलो कुरा मान्नु पर्दैन । अहिलेसम्म पनि मेरा साथीभाईहरु दाम्पत्य जीवनप्रति मेरो मन जाओस् भनेर कुरा गरिराख्नु हुन्छ । तर मलाई अब जिन्दगीमा त्यतातिर चासो नै छैन, त्यसो गरेर अब म खुशी हुन्छु जस्तो लाग्दैन । मान्छे आफ्नो जिन्दगीमा जसरी खुशी हुन्छ त्यसरी नै रमाउनु पर्छ ।’ लोकप्रिय कलाकार गौरी मल्लले कला,व्यक्तिगत जीवन र राजनीतिका बारेमा समेत सरल पत्रिकासँग खुलेर कुराकानी गरिन्,उनी अब एक्लै बाँच्न मन पराउनुको कारण के हो त ? पढौं गौरीकै शब्दहरुमा उनको रामकहानी –
तपाईँ त व्यस्त कलाकार,आजकलको दैनिकी कस्तो छ ?
मेरो दैनिकी बिहान ४ः३० बाट शुरु हुन्छ । बिहान उठेपछि एकछिनको आफ्नो नित्यकर्म पछि मेरो बुवाआमालाई चियानास्ता दिने र त्यसपछि अरु कामहरुमा लाग्ने हो । म घरेलु काम देखि लिएर सबै कुराहरु आफैं गर्छु ।
अहिले चलचित्र ‘व्लाइण्ड रक्स’को सुटिङ भइरहेको छ । श्रृष्टि केसीजीको जीवनमा आधारित हो यो फिल्म । त्यसैमा व्यस्त छु । एउटा पेङकाफन भन्ने हेल्थ अवेरनेस कार्यक्रम हँुदैछ, त्यसैमा व्यस्त छु ।
कलाकारहरु धमाधम पार्टी प्रवेश गरेर नेता हुँदैछन् तपाईँलाई अफर आएन ?
राजनीति मलाई ‘नट माई कपअफ टि’ भनेको जस्तै हो । कलाकारितामा अभिनय गर्न जति सजिलो मलाई हुन्छ, त्यो राजनीतिमा म महशुस गर्न सक्दिन ।
मन पर्दैन राजनीति ?
राजनीति मन पर्नु नर्पनुसँग सम्बन्धित छैन । हामी एउटा सर्वसाधारणको हिसाबले राजनीति मन पराएपनि मन नपराएपनि त्यसबाट अछुतो छैनौ । हामी सबै त्यसबाट प्रभावित भइ नै रहेका हुन्छौ । हाम्रो दैनिकी राजनीतिबाट प्रभावित भइरहेको हुन्छ । त्यसैले मन पर्नु नपर्नु भन्ने नै छैन । राजनीतिले हाम्रो जीवनमा सिधा प्रभाव परिरहेको हुन्छ । तर राजनीति मेरो बाटो हुन सक्दैन ।
‘सिंहदरबार’टेलिफिल्ममा प्रधानमन्त्रीको भूमिकामा त गज्जब जम्नुभयो भन्छन् नि ?
हो । यसबाट मलाई धेरै कुरा सिक्ने अनुभव भयो । एक त राजनीति मेरो विषय पनि थिएन तर काम राजनीतिसँग सम्बन्धित थियो । त्यसले गर्दा पनि सिक्ने मौका भयो । अभिनय त आफ्नो ठाउँमा छँदैछ, अभिनयकै शिलशिलामा अन्य केही कुराहरु पनि सिक्ने मौका पाइयो । हामी जनताहरु लापरवाह छांै, समाजमा केही भइरहेको छ भने आफुलाई जबसम्म पर्दैन हामी सिधा प्रभावित हँुदैनौ । तर त्यो टेलिफिल्म गरिसकेपछि मलाई के लाग्यो भने हामीले आधारभूत ज्ञान चाहिँ राख्नैपर्छ । देशमा के भइरहेको छ कसो भइरहेको छ । राजनीति प्रति पनि आधारभूत ज्ञान हामीले राख्नै पर्ने हुन्छ । यदि कहिँकतै गलत भइरहेको छ भने त्यसमा आवाज उठाउनु पर्छ भन्ने कुरा मलाई टेलिसिरियलले सिकायो ।
साँच्चैको प्रधानमन्त्री बनुँबनुँ जस्तो चैं लागेन ?
बिल्कुलै लागेन । यो खाली एक्सन कटमा सिमित भएको कुरा हो । डायलग बोल्दा प्रधामन्त्री जस्तो भूमिका गर्दा मात्र त्यस्तो भएको हो । डायलग बोल्यो अनि कट भएर सकिएपछि म वास्तविकतामा आइहालिन्छ नि । वास्तवमा मलाई यस्तो कहिले पनि लागेन ।
हाम्रो देशमा सोच्दै नसोचेका मान्छे पनि प्रधानमन्त्री भएका छन्,कतै भविष्यमा तपाईँ पनि प्रधानमन्त्री बन्नु भयो भने !
त्यो सम्भव नै नभएको कुरा हो । यस्तो कुराको जवाफ मसँग छैन । यो यति गहन प्रश्न हो सोध्दा त साधारण लाग्न सक्छ । तर सजिलो भने छैन । त्यो जुन सिंहदरवार टेलिफिल्मको स्क्रिप्ट छ, त्यसले मलाई एउटा प्रधानमन्त्रीको आफ्नो देश प्रतिको जुन जिम्मेवारी छ त्यो जिम्मेवारीलाई १३ औं श्रृंखलामा पुग्दा मलाई एकदमै गहिराईमा लिएर गएको थियो । त्यो यति गम्भिर बिषय थियो नि जुन बिषयलाई चलाउनको लागि धेरै ठूलो चुनौती बोक्न सक्ने हिम्मत भएको मान्छे, निडर मान्छे र इमान्दार हुनुपर्छ भन्ने कुरा मलाई त्यसले देखाएको छ । यसको मतलब मेरोमा मात्र सबै गुण छ भन्ने खोजेको पनि होइन । तर त्यसको बाटो अर्को पर्यो । यो यति डरलाग्दो र शक्तिशाली कुरा हो कि जो मान्छे अहिलेसम्म त्यो ठाउँमा पुगेको छ उनीहरुले पनि राम्रोसँग त्यसको महत्व नै बुझेका छन जस्तो मलाई लाग्दैन ।
तपाईँले अहिलेसम्म चलचित्रमा बिताएको समय र उपलव्धी के हो ?
यो त अतुलनीय छ । यो वर्णन गर्ने र कल्पनाभन्दा बाहिरको कुरा हो । म एउटा यस्तो साधारण कलाकार हुँ, मलाई कलाकारितासँग चिनाईदिने मान्छेहरु प्रति म कृतज्ञता व्यक्त गर्न चाहन्छु । त्यसपछि जुन एउटा नाम, दाम, लोकप्रियता,प्रशंसा, आलोचना सबैकुरा यहीँबाट प्राप्त भयो । जुन एउटा मान्छेको सपना हुन्छ । त्यो सपना मैले त्यतिखेर सजिलै प्राप्त गरेको हो । त्यसको लागि एकदमै मेहनत गर्नु परेको पनि होइन । अहिले भाई बहिनीहरु कति मेहनत गर्नुहुन्छ र त्यो चिजप्रति त म सँधै नतमस्तक छु । मान्छेले नाम कमाउनका लागि आफ्नो जीवन व्यतित गरेको हुन्छ । जीवन नै एकदमै होमिएको हुन्छ । बिदेशतिर त यतिसम्म हुन्छ कि मान्छेले आफ्नो नाम कमाउनका लागि कति तल्लाबाट हाम फाल्छन् । हरेकदिन मान्छे जन्मिन्छन् मर्छन् । त्यसबीचमा केही मानिसहरुले मलाई गौरी मल्ल भनेर चिन्छन् । यो पेशामा मलाई स्थापित गरिदिने व्यक्तित्वहरुसँग म सँधै नै नतमस्तक छु ।
कलाकार भएर जीवन धान्न पुग्छ त ?
मैले धेरै चिज पाएँ । सबैभन्दा ठूलो कुरा मैले नाम पाएँ । नामलाई स्थापित गर्न पाएँ । थोर बहुत जे जस्तो छ हाम्रो परिवेश अनुसार मैले पैसा पनि पाएँ । जेजति पाएँ, मेरो त्यसमा केही गुनासो छैन । मान्छेहरु आफ्नो जीवनप्रति गुनासो गर्छन् तर हाम्रो परिवेश अनुसार मलाई त सबै ठीक छ । हामीले देश अनुसार चल्नु पर्ने हुन्छ । म ठूलो सपना देख्ने मान्छे पनि होइन । म साधारण जीवनमा खुशी रहने मान्छे हुँ । मलाई न गरगहना कै लोभ छ न मलाई एकदमै पैसा कमाएर ठूलो घर भित्र बसेर दैनिकी चलाउन नै मन लाग्छ । मैले जस्तो चाहेकी थिएँ त्यस्तै पाएकी छु ।
यतिबेला त यहाँ एक्लै हुनुहुन्छ हैन,एक्लो जीवन बाँच्न कठिन हुँदैन र ?
एक्लो जीवन बाँच्नुको मज्जा नै बेग्लै हुन्छ । मेरो डिर्भोस भएकै आज १४ वर्ष भइसक्यो । त्यसैले म रमाइलो जिन्दगी बाँचिरहेकी छु । जोडी कमाउन नसकेको पनि होइन । यो हाम्रो जिन्दगीमा घटि रहने कुरा हो । यसलाई ठूलो कुरा मान्नु पर्दैन । अहिलेसम्म पनि मेरा साथीभाईहरु दाम्पत्य जीवनप्रति मेरो मन जाओस् भनेर कुरा गरिराख्नु हुन्छ । तर मलाई अब जिन्दगीमा त्यतातिर चासो नै छैन, त्यसो गरेर अब म खुशी हुन्छु जस्तो लाग्दैन । मान्छे आफ्नो जिन्दगीमा जसरी खुशी हुन्छ त्यसरी नै रमाउनु पर्छ ।
नयाँ चलचित्रका अफर आएका छैनन् ?
नयाँ चलचित्र भन्दा ‘ब्लाइण्ड रक्स’ काम गरिरहेकी छु । अरु चलचित्रहरुका अफरहरु आएका छन् तर राजधानी बाहिर जानु पर्ने भएकोले मलाई सम्भव भैरहेको छैन । मेरो अहिले राजधानीबाहिर जान सक्ने अवस्था छैन । म बुवा–आमालाई धेरै लामो समयसम्म छोड्न सक्दिन । उहाँहरु अलिकति वृद्ध अवस्थामा पनि हुनुहुन्छ । त्यसैले पनि छोडेर बाहिर कतै जान सक्दिन ।
तपाईँ सिनेमाका तीन कालखण्डको मूल्याङकन कसरी गर्नुहुन्छ ?
यसमा मूल्याङकन गर्ने कुरै छैन । किनभने हरेक कालखण्डको आ–आफनो महत्व हुन्छ । म आफूलाई भाग्यशाली नै ठान्छु किनभने मैले भुवन चन्दहरुको समयलाई पनि सरशर्ती हेर्ने मौका पाएँ । हाम्रो पुस्ता अहिले मध्ययुगमा छ । हाम्रो काम त हामीले गर्यौ साथसाथै अहिलेको पुस्तालाई पनि हामीले हेर्न पाइरहेको छौ । तिनवटै कालखण्डलाई हेर्न पाइरहेका छांै । तर तीनवटा कालखण्डलाई म दाँज्न चाहन्न किन दाँज्न चाहन्न भने हामीभन्दा अगाडिको पुस्ताको समय अर्कै थियो । त्यो अनुसार उहाँहरुले गर्नुभयो । त्यतिबेला त अझ चलचित्रमा कामगर्न पनि दिदैन्थ्यो भन्छन् मान्छेहरु । स्टेजमा डान्स गर्न दिदैन्थ्यो भन्थे । आईमाइ मान्छेहरुले नाच्यो भने नरम्रो दृष्टिकोणले हेर्ने गर्थे रे । लोग्ने मान्छेहरु आफै आईमाइको लुगा लगाएर नाच्ने गर्थे रे भन्ने सुनिएको थियो । कतिपटक त हामीले देख्यौ पनि भने त्यो एउटा समयलाई पनिउहाँहरुले पार गरेर आउनुभयो ।
हाम्रो समय आयो । हाम्रो समयसम्म आउँदा हामीले धेरै प्रगती गरिसकेका थियौं । हामीलाई कसैबाट पनि कुनै किसिमको अवरोध भएन । अहिलेको पुस्ताले त यति राम्रो राम्रो कुराहरु पाउनु भएको छ । प्राविधिक देखि लिएर सबै कुरा अहिले राम्रो छ । त्यसैले समयलाई हामीले मूल्याङकन गर्नै सक्दैनांै । समय आ–आफनो हिसाबले रफ्तारमा चलिरहेको हुन्छ । हरेक कुरा समयको हातमा हुन्छ । समयले नै सबै कुरा निर्धारण गरिरहेको हुन्छ ।
प्रस्तुतिः सुकृत नेपाल
Loading...
Share on Google Plus