चितवन, ९ फागुन
। चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा
खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी
कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५
वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको
चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट
गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने
स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय
शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका
२८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ घाइते भएको र अहिले
उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । कोठाको सामान लिएर
जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । बोलेरो पानी भित्रै रहेकाले
निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।