वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि
अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका
छैनन् । आरोहण गर्नै नसकेर भने होइन, हिमाल चढ्ने बन्दोबस्तीका सामान
भरियालाई बोकाएर हिमालको आधार शिवीरतिर लम्कने क्रममै बिलाए उनको हिमाल
चढेर हिरो बन्ने चाहना ।
हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालको
डाँडाकाँडासँग मित लगाउँदै भरियाहरुसँगै भारी बोकेर उनीहरुकै उत्थानका लागि
क्रियाशील ‘बेन एयर्स’ को वास्तविकता हो यो । अहिले जि फाउण्डेशन नामक
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाल निर्देशक रहेका बेनको नेपाल
प्रेम अतुलनीय छ ।
बसन्तपुर–चैनपूर भारी बोक्दा
हिमाल चढ्ने धोको त्यागेर भरियाको जिन्दगी
अध्ययन गर्न लागेका बेनले भरियाको जिन्दगी हेरेर मात्र बुझ्न सकिन्न भन्ने
निष्कर्ष निकाले र उनीहरुसँगै भारी बोक्ने निधो गरे । सुरुसुरुमा काठमाडौ
उपत्यकाको वरिपरि सानातिना भारी बोकेर थाप्लोलाई बानी बनाउन थालेका उनले
कास्कीको घान्द्रुक जाँदा आफ्नो सामान आफैंले बोके । अलि अलि बानी हुँदै
गएपछि भरियाले जस्तै संखुवासभाको बसन्तपुर–चैनपुर ज्यालादारीमा भारी बोक्न
थाले । ‘४० किलो चामल बोक्थें त्यो पनि भरिया दाइहरुले मलाई दिन मान्दैनथे’
त्यसपछि जिन्दगीको वास्तविकता मैले थाहा पाउन थालें । ती भरियाहरुले
टाउकोको भरमा १ सय २० किलोसम्म बोक्दोरहेछ, यो रमाइलोका लागि थिएन, जीवन
चलाउनका लागि थियो ।’ विगत सम्झिँदै बेनले भने ।
भरियाभित्रको यीनै सम्भावनालाई पहिल्याएर
उनले सन् २००४ तिरै भरिया विकास नेपाल भन्ने संस्था खोले । भरिया विकास
नेपालका सबै सदस्य भरियालाई नै बनाए । यसको उद्देश्य हिमाल आरोहीहरुको भारी
बोकेर जाने भरियाको जीवन रक्षा गर्नु थियो ।
त्यत्तिबेला भरिया विकास नेपालको एक
वर्षको बजेट एक लाख मात्र थियो तैपनि त्यो सिर्जनात्मक कामले भरियाहरुले
हिमालमा जाँदा कपडाकै अभावमा मर्नुपर्ने अवस्थाको अन्त्य भएको थियो । देशमा
द्वन्द्व चर्किंदो थियो, अमेरिकन नागरिकले नेपालमा बसेर सेवा गर्ने
वातावरण थिएन, त्यसपछि सन् २००७ तिर भरिया विकास नेपाल बन्द गरेर उनी
अमेरिका नै फर्किए ।
..............................
नेपालको हावापानीमा बाँच्ने बानी परिसकेका
बेनलाई अमेरिकाको बसाई दिक्क लाग्न थाल्यो । उनलाई सधैं नेपालको हावापानी,
मिलनसार दाजुभाइ, दिदीबहिनी, दुःख लुकाएर पनि सधैं हाँसिरहने मुहारले
बोलाइरहे झैं लाग्थ्यो । बेन भन्छन् ‘मलाई अमेरिकामा पनि अलि बल पर्ने काम
नै गर्न मन लाग्थ्यो, ल्यापटप चलाएर बस्नै मन लागेन, अनि अमेरिकामा पनि रुख
काट्न थाले, गाई दुहुन थालें त्यहाँबाट कमाएको पैसा म नेपाल आउने भिसा र
खान बस्नका लागि खर्च गर्थें, जिन्दगीमा संघर्ष गर्न, म पनि केही गर्न
सक्छु भन्ने आँट मलाई भरिया दाइहरुले नै दिएका हुन् उहाँहरु मेरो भगवान हो
।’
...............................
भरिया विकास नेपाल बन्द भएपनि उनको नेपाल
आउने जाने क्रम चलिरहन्थ्यो । नेपाल आउनुअघि जर्मनीमा एक हप्ताको भ्रमण
गरेका बेनका लागि नेपाल दोस्रो देश थियो । नेपालले उनलाई यस्तो मोहनी
लगाइदियो कि जहाँबाट उनी फुत्किनै सकेनन् । ‘नेपालमै यसरी बस्छन् भन्ने
थाहा पाएको भए मलाई घरबाट निस्कनै दिँदैनथे होला ?’ बेन भन्छन् ।
अमेरिकन नागरिक बेन नेपालमा लामो समय बस्न
पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । ‘नेपालमा आएपछि १८ वर्षको अवधिमा धेरै
देशहरु घुमें तर नेपाल जस्तो सुन्दर देश र नेपालीहरु जस्तो संस्कृतिका धनी
विश्वमा पाउन सकेन ।’ यही बिचमा उनले नेपाली भाषा पनि सिके, ६ महिना
नेपाली भाषा सिकेका बेनलाई अहिले सितीमिती कसैले ढाँट्न सक्दैनन् ।
..........................
नेपाली उखान नै छ ‘तिमी चिताउ, म
पुर्याउँछु’ बेनलाई पनि यस्तै भयो । भरिया विकास नेपाललाई आर्थिक सहयोग
गर्दै आएको जि फाउण्डेशनले नेपालमै कार्यालय खोलेर काम गर्ने प्रस्ताव आयो ।
बेनले पनि भरिया विकास नेपालले गर्दै आएको पुराना कामलाई निरन्तरता दिने र
आफ्नै तरिकाले काम गर्न दिने भए काम गर्ने बताए ।
‘म भाग्यमानी छु, मैले जस्तो अनुभव अरु
अमेरिकी नागरिकले हासिल गर्न पाउँदैनन् । मेरो श्रीमती, छोराछोरी नभए पनि
नेपालमा मेरो सयौं परिवार छन् । जहाँ जतिबेला पुगेपनि मलाई बास दिन्छन् ।
नेपालको डाँडाकाँडा म भित्र छ, संसारमा नेपाल जस्तो राम्रो देश अहिलेसम्म
भेटेको छैन । मैले यहाँ बस्ने अधिकार पाउन्जेल बसिरहन्छु । म यो देशको
पाहुना हुन पाएकोमा गौरवान्वित छु’ बेनले भने । source:http://ujyaaloonline.com
Loading...