गुलरिया (बर्दिया), १८ चैत । राजापुरस्थित
८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा
भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् ।
चैत १६ र १७ गते नेपाल–भारत सीमा
छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको
नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेका थिए ।


स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध
तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ । जिल्लाको राजापुर
नपा र गेरुवा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय जङ्गलबाट आउने
हात्तीलगायत जङगली जनावर रोक्न विद्युतीय तारबार लगाउने क्रममा एसएसबी
नेपालभित्र छिरेर रोक्ने प्रयास गरेको हो ।
सीमा स्तम्भ नम्बर ८६ र ८७ बीच नेपाल
भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयवासीलाई धम्काउँदै
रोक्ने प्रयास गरेका थिए । तारबार रोक्न एसएसबी हतियारसहित नेपाली भूमि
प्रवेश गरेको स्थानीयवासीको भनाइ छ । एसएसबीले तारबार लगाए ज्यान मार्ने
धम्की दिएको स्थानीयवासी विष्णु रिजालले बताउनुभयो ।


घटनालगत्तै राजापुरस्थित सीमा सुरक्षा
सशस्त्र प्रहरी बल त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी बल राजापुरका
सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म
दशगजादेखि करिब सय मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउन सहमति भएको
जनाउनुभयो । प्रनि रानाले भने एसएसबी हतियारसहित नेपाल प्रवेश नगरेको
बताउनुभएको छ ।
नेपाली भूभागभित्र तारबार लगाउन नपाउने
भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृत्तिले स्थानीयवासी आतङ्कित भएको
भिम्मापुरका लालबहादुर चौधरीले बताउनुभयो ।
निर्वाचन क्षेत्र पूर्वाधार
कार्यक्रमअन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमी
क्षेत्रमा भारतबाट प्रवेश गर्ने जङ्गली जनावरबाट हुने क्षति कम गर्न तारबार
लगाउने काम भइरहेको छ । रासस
Loading...