काठमाडौं
१२ फागुन – नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा केही
विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको भन्दै
त्यस्ता समूहलाई निस्तेज पार्न सेना हरहमेसा तयार रहेको बताएका छन्।
बिहीबार ‘सेना दिवस २०७३’ को उपलक्ष्यमा
नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले
विखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तयार रहेको बताएका
हुन्।
सेनापतिको अभिव्यक्ति केही वर्षयता तराईमा
देश टुक्राउने अभिव्यक्ति दिँदै हिड्ने सिके राउतप्रति लक्षित थियो।
यद्यपी सेनापति क्षत्रीले राउतको नाम भने लिएनन्।
‘केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता
भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको
कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव
तथा सहिष्णुतालाई चुनौती दिएको छ,’ सेनापति क्षत्रीले भने, ‘पूर्खाको रगत
पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई
निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहने छ।’
सेनापति क्षत्रीले राष्ट्रिय हितविरुद्ध
उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा सुनौतीको सामना गर्न समेत
सेना तयार रहेको बताएका छन्। उनले संविधान र नेपाल सरकारले दिएको
जिम्मेवारी सेनाले हरहालतमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
‘हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित
राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा
चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय
मानवीय कानुनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने
सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ सेनापति
क्षत्रीले भने, ‘नेपाली सेनालाई सक्षम, व्यवसायिक सैनिक सङ्गठनको रुपमा
विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनको अधिकतम् प्रयोग
गरेरअघि बढ्ने छ।’
उनले सवल र सक्षम सङ्गठन तयार गर्ने,
नागरि-सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने,
वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई समेत सेनाले निरन्तरता
दिने बताएका छन्। उनले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको
प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा
समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाली सेनाको वीरताको चर्चा गर्दै
सेनापति क्षत्रीले नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना भएको
बताए। उनले राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा नेपाली सेनाले गरेको
निःस्वार्थ सेवाले नेपाली जनताको सेना प्रतिको अगाध विश्वास, आस्था र भरोसा
जितेको समेत दाबी गरे।
‘नेपाली सेनाको इतिहास, राज्यको
प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवम् देशको स्वतन्त्रता, सार्वभौमसत्ता,
भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाको लागि पूर्वजले देखाएको
वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ’,
सेनापति क्षत्रीले भने, ‘समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव
आत्मसाथ गर्दै आएको कुरालाई कसैले बिर्सनु हुँदैन।’
साभार अन्नपूर्ण पोस्ट बाट
Loading...