काठमाडौं, फागुन ९ – एक समय निर्देशक
निश्चल बस्नेतलाई कम बोल्ने अनि घमण्डी निर्देशकका रुपमा लिइन्थ्यो । काममा
मात्रै ध्यान दिने र अरुसँग सजिलै घुलमिल नहुने बानी थियो उनको ।
तर सिनेमा क्षेत्रमा काम गर्दा नबोली
नहुने भएका कारण उनको बानीमा परिवर्तन आयो । उनी विस्तारै विस्तारै खुलेर
बोल्न थाले । अहिले त उनी धेरै बोल्ने मै पर्छन् । जिन्दगीमा धेरै असफलता
बेहोरेपछि सफलता पाएका व्यक्ति हुन् निश्चल । आफूले गरेका हरेक कामहरु पूरा
हुन नपाउँदा, सफल नहुँदा उनी करिअरको सुरुवाती दिनमा निकै निराश थिए । 
थ्रि डी एनिमेशनमा रुची भएका उनी यहि विषय
पढ्नको लागि अष्ट्रेलिया पनि हानिए । तर उनले चाहेको विषय पढ्न पाएनन् ।
उनले त्यहाँ व्यवस्थापन संकायमा अध्ययन सुरु गरे । तर पढाई सक्नको लागि
केही समय बाँकी हँुदा अष्ट्रेलियन सरकारले उनले अध्ययन गरिरहेको कलेज नै
बन्द गरिदियो । आवश्यकता भन्दा धेरै विद्यार्थी भर्ना लिएकोले कलेज बन्द
गरिएको थियो । निश्चलले अष्ट्रेलियामा अध्ययन पूरा गर्न नपाए पनि खाना
पकाउन भने सिके । उनी त्यसलाई नै अष्ट्रेलियाको उपलब्धी मान्छन् ।
अष्ट्रेलियाबाट खाना पकाउन सिकेर नेपाल फर्केका उनले कमाई स्वरुप जम्मा
पाँच सय डलर ल्याएका थिए ।
उनले अष्ट्रेलिया गएर न पैसा कमाए न
अध्ययन पूरा गर्न पाए । उनको वर्षौँ लामो अस्ट्रेलिया बसाईको क्रममा उनको
परिवारले उनी माथि धेरै पैसा खर्चेको थियो । तर अध्ययन पूरा हुन नपाउँदा
निश्चल र उनको परिवारको सपना अधुरै रह्यो । एक दिदी र एक बहिनी भएका उनी
परिवारका एक्लो छोरा हुन् । छोराको सपना अपूरो हुँदा बाबा आमालाई पनि दुःख
लाग्नु स्वभाविक नै थियो । 
हामीसँग कुराकानी गर्ने क्रममा निश्चलले
अस्ट्रेलिया जाँदा खर्च गरेको बा को ऋण तिर्न बाँकी नै रहेको बताए । तर पछि
फेरि हाँस्दै भने ‘हुन त, बाको सम्पती पनि मेरो हो भन्ने सोचेको छु । तर
बाले सोचेको छन कि छैन्न् ? त्यो भने मलाई थाहा छैन ।’
कुरै कुरामा तपाईँका बा को जग्गा कति छ
भन्ने प्रश्नमा निश्चल भन्छन्, ‘खोई कुन्नी कति छ मलाई पनि थाहा छैन ।
अलिअलि छ भन्छन् ।’ निश्चललाई उनका बाले इन्जिनियर बनाउने सपना देखेका थिए
भने आमाले डाक्टर बनाउने । तर उनी डाक्टर, ईन्जिनियर होइन एउटा सफल
निर्देशक भए ।
निश्चल दाइको ठाँउमा काले दाइ भए
निर्देशक भएर चर्चामा आएका निश्चलले अब
सिनेमामा मुख्य कलाकार भएर पनि काम गर्ने भएका छन् । उनी अब छिट्टै नै
सिनेमा ‘दुई रुपैयाँ’मा मुख्य कलाकारको रुपमा देखिँदैछन् । त्यस्तै उनले
सिनेमा पर्वको ‘काले दाइ’ गीतमा आईटम डान्स गरे जुन गीतले उनको परिचय नै
फेरिदियो । पहिले उनलाई निश्चल दाइ भन्नेहरुले यो गीत पछि काले दाइ भनेर
बोलाउन थाले । वास्तव मै अलि काला निश्चललाई अरुले मायाले काले दाइ ! भन्दा
निकै आनन्द आउँछ । 
‘लुट-२’ मा सबै कलाकारको पसिना र रगतको लगानी छ
बहुप्रतिक्षित चलचित्र ‘लुट–२’ को
छायाँकनको समयमा सबै कलाकार घाइते भएका थिए रे । चलचित्र छायाँकन गर्ने
क्रममा हरेक पटक कलाकारहरुको खुट्टा, हात, नाकदेखि टाउको सम्ममा चोट लागेको
उनले बताए । त्यसैले उनी भन्छन्, ‘लुट–२’ मा कलाकारहरुले पसिनामा मात्रै
होइन रगत पनि बगाएका छन् । दयाको हात काटिएको थियो भने सौगातको नाकमा पनि
बन्दुकले चोट लागेको थियो । यस्तै फाइटर सुशिलको छायाँकनको क्रममा लडेर
टाउकोमा चोट लाग्दा सात टाँका लगाउनु परेको थियो ।’
कलाकारको मेहनत हेर्दा सिनेमा असफल हुन्छ
जस्तो उनलाई लाग्दैन । त्यस्तै लुट मा भन्दा पनि ‘लुट–२’ मा धेरै फाईट
रहेको जानकारी उनले दिएका छन् । चलचित्रको कहानी नै एउटा समूहले अर्काे
समूहलाई देख्ने वित्तिकै कुरा भन्दा पनि फाइट गर्न अगाडि सर्ने भएको कारण
चलचित्रमा धेरै फाईट भएको हो । ५६ लाखमा निर्माण भएको सिनेमा ‘लुट’ले ६
करोड कमाएको थियो भने ‘लुट–२’ मा १ करोड ५० लाख लगानी छ । लगानी जति भएपनि
चलचित्रले पैसा भन्दा धेरै नाम कमाए पुग्ने निश्चल बताउँछन् । 
लुटको शब्द आमालाई मन परेन
‘लुट’ रिलिज भएपछि निश्चलले आमालाई हलमै
लगेर चलचित्र देखाए । हेरेपछि आमाले सिनेमा राम्रै बनाएको हो, तर त्यो शब्द
चाँहि अलि भएन भन्ने प्रतिक्रिया दिएकी थिइन् । उनले आमालाई काठमाडौंमा
सिनेमा देखाए भने बा ले स्थायी घर झापामै बसेर हेरेका थिए । तर बाले भने
सिनेमा हेरेर प्रतिक्रिया नदिएको निश्चल बताउँछन् । उनका बाको एउटा रमाइलो
बानी रहेछ । निश्चलका बारेमा पत्रिकामा आएका समाचारहरु काटेर राख्ने ।
निश्चलका बा आमा दुवैले ‘लुट–२’ को कुरा गर्दै, दुई मा त त्यस्तो शब्दहरु
राखेको छैन नि ? भनेर प्रश्न गरेका थिए रे ।
दुई रुपैयाँको स्टाइल यस्तो
हाल निश्चलको हेयर स्टाईल अलि बेग्लै छ ।
उनको बद्लेको हेयर स्टाईल देखेर हामीले उनलाई सोध्यौँ, ‘यो स्टाईल के को
लागि ?’ यसको जवाफमा उनले भने, ‘दुई रुपैयाँको लागि ।’ चलचित्र ‘दुई
रुपैयाँ’को लागि उनले लुक्स परिवर्तन गरेका हुन् । उनले दाहिने र देब्रे
पट्टि कपाल छोटो पारेका छन् भने तालुतिरको भागमा लामो राखेका छन् ।
‘दुई रुपैयाँ’ फागुनको अन्तिम साताबाट
छाँयाकन हुनेछ । ‘दुई रुपैयाँ’ असिम शाहको निर्देशनमा बन्न लागेको चलचित्र
हो । सिनेमामा अभिनेता भएर काम गर्ने प्रसंग मै हामीले उनलाई धेरै ठाउँमा
काम गर्दा गाह्रो हुन्न भनेर सोध्दा उनले भने, ‘कहिले काँही लडिने होकी
भन्ने पनि लाग्छ तर चलचित्र क्षेत्रमा यही मौका नपाउने कलाकारहरु पनि
हुनुहुन्छ । हामीले त काम पाइरहेका छौँ त्यो नै ठूलो कुरा हो ।’source:forseenetwork.com
Loading...