काठमाडौं, पुस १९ – सिनेमा क्षेत्र यस्तो
क्षेत्र हो जहाँ मेन्टेन भएर बस्नको लागि आर्थिक रुपमा बलियो हुनुपर्छ ।
यहि कारण पनि होला यो क्षेत्रमा धेरै जसो सम्पन्न परिवारबाटै आएको देखिन्छ
।
सिनेमाकी सफल अभिनेत्री प्रियंका कार्की
खानदानी नायिकाको रुपमा परिचित छिन् । अर्की अभिनेत्री पूजा शर्मा धनी
बाउकी एक्ली छोरी भनेर चिनिएकी छिन् । यहि प्रसंगमा हामीले १० नेपाली
अभिनेत्रीका बुवा आमा के गर्छन् ? खोजेका छौँ ।
संचिता लुईँटेल

अभिनेत्री
संचिता लुईँटेलका पिता बिद्युत प्राधिकरणमा कार्यरत थिए । अहिले भने अवकास
प्राप्त गरेर बसेका छन् । त्यस्तै उनकी आमा पनि सरकारी जागिरबाट अवकास
प्राप्त नै हुन् । उनकी आमा नेपाल टेलिकममा कार्यरत थिइन् । आमा बुवाले नै
यहि वर्ष स्वेच्छाले अवकास लिएर बसेको संचिताले हामीलाई बताइन् ।
प्रियंका कार्की

अभिनेत्री
प्रियंका कार्कीकी आमा पहिलो हेयरहोस्टेज थिइन् । अहिले भने उनी गृहणीकै
रुपमा घरमा छिन् । त्यस्तै प्रियंकाका बुवा भने व्यापारी हुन् । त्यसो त
प्रियंका मल्होत्रा खानदानकी भान्जी हुन् । उनको परिवार पनि आर्थिक रुपमा
अरुको तुलनामा बलियो छ । त्यसकारण उनी खानदानी नायिकाको रुपमा पनि परिचित
छिन् ।
पूजा शर्मा

पूजा
शर्माका बुवा सिन्धुपाल्चोकको चौतारास्थित स्थानीय अस्पतालमा चिकित्सकको
रुपमा कार्यरत छन् । उनकी आमाले केही समय अघिसम्म शिक्षिकाको रुपमा काम
गर्थिन् । पछि भने केही समस्या आएका कारण शिक्षिकाको पेशा छाडेर घरमै बस्न
थालेकी छिन् ।
केकी अधिकारी

अभिनेत्री
केकी अधिकारीका बुवा निर्देशक हुन् यो कुरा हामी सबैलाई थाहा छ । सुरुमा
नेपाल टेलिभिजनमा काम गरेका बद्री अधिकारीले पछि गएर केही सिनेमा निर्देशन
पनि गरे । तर उनको सिनेमा निर्देशनको यात्रा खासै सफल भएन । अहिले उनी
नाँचघरमा महर्षी यज्ञ बल्क्य नामको नाटक गरिरहेका छन् । उनी यो नाटकको
निर्देशकको रुपमा छन् । केही समय अघि केकीका बुवाको आफ्नै स्कूल पनि थियो ।
तर आर्थिक अवस्थाले सताएका कारण उनीहरुले स्कूललाई अगाडि लैजान सकेनन् ।
केकीकी आमा भने गृहिणी हुन् ।
बर्षा राउत

सिनेमा
नाई नभन्नु ल ४, छक्का पञ्जा, जात्राबाट दर्शकको मन जितेकी अभिनेत्री
बर्षा राउतका बुवा व्यापारी हुन् । त्यस्तै उनकी आमा भने घर सम्हालेर कसेकी
छिन् । बर्षा आफ्नी आमाको कामलाई निकै नै गाह्रो काम भन्छिन् । घर
सम्हाल्नु भनेको ठूलो काम हो भन्दै उनले आफ्नी आमाले सबैभन्दा गाह्रो काम
गर्ने केही समय अघि हामीलाई बताएकी थिइन् ।
मेनुका प्रधान

मेनुका
प्रधान थियटर हुन्दै सिनेमामा आएकी अभिनेत्री हुन् । उनले सिनेमा टलकजंग
भर्सेस टुल्के र भैरवमा आइटम गीत पनि गरिन् जसले उनलाई चर्चामा ल्यायो ।
त्यस्तै उनले रेशम फिलिलि, गाजलु, पुरानो डुङ्गा लगायतका सिनेमामा काम
गरेकी छिन् । मेनुकाको जन्म भारतमा भएको हो । उनका बुवा भारतीय सेनामा
कार्यरत भएका कारण उनी भारतमै जन्मेकी हुन् । भारतको मनिपुरमा कार्यरत उनका
बुवाले मनिपुरकै युवतीलाई श्रीमती बनाएर भित्र्याएका थिए । मेनुकाकी आमा
गृहिणी हुन् भने बुवा अवकास प्राप्त गरेर कान्छी श्रीमती मेनुकाकी सौताने
आमासँग बस्दै आएका छन् ।
बेनिशा हमाल

बेनिशा
हमाल अहिले सिनेमा किङका कारण चर्चामा छिन् । एक्शन नायक निखिलसँग पहिलो
पटक पर्दा बाँडेकी बेनिशा यो सिनेमाले आफ्नो करिअरलाई माथि लैजानेमा
विश्वस्त छिन् । बेनिशाका बुवा व्यवसायमा संलग्न छन् । बेनिशा जन्मने समयमा
कानुन विषयमा अध्ययन गर्दै गरेका उनका बुवा अहिले भने चितवनमा पोल्ट्री
फार्र्म चलाएर बसेका छन् । बेनिशाकी आमा सामाजिक कार्यकर्ता हुन् ।
शिल्पा पोख्रेल

अभिनेत्री
शिल्पा पोख्रेलका पिता ओम राज पोख्रेल व्यापारी हुन् । विराटनगरमा राज
केमिकल उद्योगका नामले फिनाईल, ईंक लगायतका सामानहरु सप्लाई गर्दै आएका छन्
। यो उनीहरुको पुर्ख्यौली व्यापार हो । शिल्पाका हजुरबुवाको यो ब्यापारलाई
बुवाले निरन्तरता दिइरहेका छन् । त्यस्तै शिल्पाकी आमा सुचिता भने
शिक्षिका हुन् । सुचिता प्राथमिक स्तरका विद्यार्थीलाई गएको पाँच वर्ष यता
पढाउँदै आएकी छिन् । योभन्दा पहिले भने उनी पनि पतिसँगै व्यापारमा संलग्न
थिइन् ।
स्वस्तीमा खड्का

सानै
उमेरमा राम्रो स्टारडम पाएकी अभिनेत्रीको रुपमा स्वस्तीमालाई चिनिन्छ ।
सिनेमा होस्टेल रिटन्र्सबाट ब्रेक लिएकी स्वस्तीमा अहिले दोस्रो सिनेमा लभ
लभ लभको प्रमोशनमा जुटेकी छिन् । स्वस्तीमाका बुवा नेपाली सेनामा कार्यरत
थिए । अहिले भने अवकास प्राप्त भइसकेका छन् । त्यस्तै उनकी आमा गृहिणी हुन्
।
सुरवीना कार्की

बोल्ड
अभिनेत्री सुरविना कार्कीका बुवा राजनेता हुन् । उनी अहिले नेपाली
कंग्रेसमा कार्यरत छन् । त्यस्तै उनकी आमा पहिले शिक्षिका थिइन् । अहिले
भने अवकास प्राप्त भएर ब्यापारमा संलग्न छिन् । सुरवीनाले सिनेमाकी हट
अभिनेत्रीको परिचय बनाएकी छिन् । उनले लुकामारी, झेली, शुस्त्री, नाइके
लगायतका सिनेमामा काम गरेकी छिन् ।
source:http://ujyaaloonline.com